काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने कुरा भूलचुकले पनि नबोल्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी गर्दै उहाँले त्यसको विरोध नगर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई भन्नुभएको हो ।
केन्द्रीय सल्लाहकार परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले भीम रावल र घनश्याम भुसालप्रति लक्षित गर्दै भन्नुभयो, ‘केही साथीहरू मौका पाउँनासाथ प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने गर्नुभएको छ । यस्ता खालका गलत कुरा सल्लाहकार परिषद्का कोही पनि कमरेडले भूलचुकले पनि नबोल्न आग्रह छ । विघटन बिल्कुल जायज थियो, त्यही कारण आज एमाले यहाँ छ । नत्र प्रचण्ड–माधव जस्ताको कजमा गएर एमाले ध्वस्त भइसक्थ्यो । उनीहरूको कब्जामा गएर भाइलाई के बनाउने, छोरी बुहारीलाई के दिने भन्नेमै केन्द्रित भएर यो पार्टी समाप्त हुने थियो ।’
प्रतिनिधिसभा विघटन गरेर पार्टीलाई प्रचण्ड माधवको कब्जामा जानबाट रोक्न सकिएको भन्दै ओलीले आज एमाले देशको प्रमुख शक्ति बन्नुमा त्यही विघटनबाट पार्टी जोगाएकाले भएको बताउनुभएको छ । एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको उहाँको दाबी थियो ।
ओलीले देशभर एमालेको संगठन बलियो बनेकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गर्नुभएको हो । उहाँले नेता कार्यकर्ताहरूलाई सोही आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिँदै सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर घेर्न खोजेपनि सफल हुन नदिने बताउनुभएको छ ।