काठमाडौँ । नेकपा एमालेले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र अब गर्ने कामका विषयवस्तु समेटिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसको असर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ । यस्तै, ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने। ठूला सहरहरुमा रेल, बस, र्यातपिड ट्रान्जिट लगायतका यातायात प्रणालीको विकास गर्ने। ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने’, घोषणापत्रमा भनिएको छ।
त्यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने भनिएको छ। आवश्यक ठाउँमा पक्की पुलको व्यवस्था गर्ने घोषणापत्रमा भनिएको छ।
प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने एमालेले बताएको छ। ’सडक निर्माण गर्दा यसको दीगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने, जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने’, घोषणापत्रमा उल्लेख छ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै धमाधम दलहरुले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने क्रम जारी छ । एमाले विभक्त भएको बनेको नेकपा एकीकृत समाजवादीले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ । यस्तै, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलले पनि घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।