गोरखा । गोरखाको सहिद लखन थापा गाउँपालिकाका काँग्रेसका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले गाउँपालिका भरी विजुली र पानी फ्रि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्षका उम्मेदवार नारायणप्रसाद लामिछाने र उपाध्यक्षकी उम्मेदवार शर्मीला श्रेष्ठले आफुहरु विजयी भएमा सबै गाउँलेलाई निःशुल्क विजुली र पानी उपलब्ध गराउने प्रतिबता व्यक्त गर्नु भएको हो ।
उहाँहरुले विद्यालहरुमा आवासीय सेवा सहितको निःशुल्क पठन पाठनको व्यवस्था गर्ने, जातिय कला संस्कृतिको संरक्षण गर्ने योजना पनि बनाउनु भएको छ ।
त्यसैगरी आधुनिक कृषिलाई उद्योगको रुपमा विकास गर्दै युवाहरुलाई स्वरोजगार बनाउने, एक घर—एक सिप र एक टोल—एक बगैँचाको व्यवस्था गर्ने उहाँहरुले अठोट गर्नुभएको छ ।
सहिद लखन थापा गाउँपालिका आफैमा धार्मिक तथा ऐतिहासिक गाउँपालिका भएकाले विश्वभरी चिनाएर पर्यटनको विकास गर्ने, जल र जडिबुटीलाई आर्थिक उपार्जनको माध्यम बनाउने र हरेक वडा कार्यालयबाट पालिका कार्यालयसम्मको सडक कालोपत्रे गर्नेलगायतका दर्जनौ योजनाहरु बनाएको अध्यक्षका उम्मेदवार लामिछानेले जानकारी दिनुभयो ।
२०३६ सालको जनमत सङ्ग्रहदेखि निरन्तर राजनीतिमा क्रियाशिल सालिन तथा सादगी नेता लामिछानेले २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को आन्दोलनमा अग्रणी भूमिका खेल्नु भएको थियो ।
उहाँ नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरी तरुण दलको जिल्ला उपाध्यक्ष, काँग्रेसको क्षेत्रीय सचिव, क्षेत्रीय कार्यबहाक सभापति, जिल्ला सहसचिव हुदै हाल क्षेत्रीय सभापति हुुनुहुन्छ ।
उहाँले पार्टीमा निरन्तर क्रियाशिल रहेपनि अहिलेसम्म कुनै लाभको जिम्मेबार नलिनु भएको र सागदी जीवन शैलीको भएकाले उहाँलाई स्थानीय बासिन्दाले “समाजवादी नेता”का रुपमा चिन्ने गर्दछन् ।
त्यसैगरी उपाध्यक्षकी उम्मेदवार शर्मिला श्रेष्ठ लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल महिला नेतृ हुनुहुन्छ । उहाँले आफू यसअघि उपाध्यक्षमा झिनो मतअन्तरले पराजित भएकाले अहिले गाउँलेले निर्वाचित गर्ने विश्वास लिनु भएको छ ।
राजनीतिलाई पेशा व्यवसाय बनाउने नभई, व्यवसायी व्यक्तिले राजनीतिमा लागेर समाज सेवा गर्नुपर्छ भन्ने मान्यता राख्नु हुने नेतृ श्रेष्ठ पालिकाको सहयोग र महिला समूहको लगानीबाट फुलखेती, मौरी पालन, स्वास्थ्य शिविर जस्ता सामाजिक कार्य गर्नु भएको छ ।
आफू निर्वाचित भएमा महिलाका समस्या समाधान गर्ने कार्यलाई मुख्य प्राथमिकता दिने र अन्यायमा परेका सबैलाई न्याय दिलाउन दिनरात खट्ने अठोट गर्नु भएको छ ।