काठमाडौँ । पाँच दलीय सत्तारुढ गठबन्धनले बागी उम्मेदवारी तत्काल फिर्ता लिन र गठबन्धन बाहिरका दलहरूसँग गरिएका चुनावी तालमेल खारेज गर्न पार्टीका तल्ला कमिटीहरूलाई तीन बुँदे निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार(आज) बसेको गठबन्धनमा आबद्ध पाँच दलहरूको बैठकले तीनबुँदे समझदारी गरेको हो ।
बैठकपछि जारी संयुक्त वक्तव्यमा पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने निर्णय भएको छ ।
यस्तै पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय पनि भएको छ ।
यस्तै पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने तथा गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागिता थियो ।
आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । त्यसैले सत्तारुढ गठबन्धनले उक्त निर्णय गरेको हो ।
