काठमाडौँ । सत्तारुढ गठबन्धनले गठबन्धनको मर्म र भावना अनुसार नै चुनावी अभियानमा लाग्न निर्देशन दिएको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनमा केन्द्रको तालमेलको निर्णयअनुसार गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गरी सक्रियतापूर्वक जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताहरूलाई कारबाही गर्ने भएका छन् ।
गठबन्धनको आज बसेको बैठकले स्थानीय तह निर्वाचनमा सबै नेता र कार्यकर्ताहरूलाई तल्लो तहसम्मै एकता गरेर अगाडि बढ्न भनेको हो ।
गठबन्धनको निर्णयमा भनिएको छ, ’गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने । यो निर्णय पालना नगर्नेलाई आआफ्ना दलले कारबाही गर्ने निर्णय गरियो ।’
पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय अनुसार बागी उम्मेदवारी फिर्ता नलिने र लिन सम्भव नभएको ठाउँमा पनि कार्यकर्ताहरूलाई समझदारीअनुसार अगाडि बढ्न निर्देशन दिइएको छ ।
गठबन्धनको निर्णय विपरीत चितवन महानगरपालिका लगायतका कतिपय स्थानमा बागी उम्मेदवारी परेका छन् । कतिपय स्थानमा भने बागी उम्मेदवारी फिर्ता लिन ढिलाइ हुँदा गठबन्धनबाट दोहोरो उम्मेदवारी परेको छ ।
