काठमाडौं । रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्म अफताव आलमलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश शुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत रौतहट र उच्च अदालत जनकपुरको आदेश सदर गर्दै आलमको माग अस्वीकार गरेको हो । उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भनी जिल्ला अदालतले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो । सामूहिक नरसंहारको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालत र वीरगञ्ज उच्च अदालतको आदेशविरुद्ध आलमले सर्वोच्चमा निवेदन दिएका थिए ।
आलमको निवेदन लामो समयदेखि सर्वोच्चमा विचाराधीन रहेको थियो । सर्वोच्चले आलमको निवेदनमा दाबी गरिएअनुसार धरौटी तथा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गराउनुपर्ने माग अस्वीकार गरेपछि अब उनी मुद्दाको टुंगो नलागेसम्म जेलमै बस्नुपर्ने भएको छ ।