काठमाडौं - सत्तारुढ पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी आमसभालाई तीब्र बनाएको छ । आज काठमाडौंको शान्तिवाटिमा आयोजित चुनावीसभामा पाँच दलका शीर्ष नेताहरुले गठबन्धन संविधान, लोकतन्त्र र अधिनायकवादको अन्त्यका लागि बनेको जिकीर गरेका छन् ।
सभामा बोल्दै सत्ता गठबन्धनबाट काठमाडौं महानगर प्रमुखकी साझा उम्मेदवार सिर्जना सिंहले आफूले जितेमा महानगरलाई सबैको अपनत्व हुने गरी चलाउने बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलभित्र विभिन्न असन्तुष्टि भएपनि प्रतिगमनलाई समाप्त गर्ने विषयमा एकमत रहेको बताउनुभयो ।
संयुक्त चुनावी सभामा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलहरुबीचको एकता मुलुकमा राजनीतिक स्थायित्वका लागि महत्वपूर्ण रहने बताउनुभयो । २०४६ साल, २०६२÷०६३ सालको आन्दोलनमा सबै दलहरुको एकताले मुलुकमा परिवर्तन आएको स्मरण गर्दै अध्यक्ष नेपालले हाल पनि दक्षिणपन्थी शक्तिहरुको अराजकताविरुद्ध एकजुट हुनुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिवर्तनमा महिलाको उच्च भूमिका रहेको स्मरण गर्दै प्रतिगमन र गतिरोधको अन्त्यका लागि गठबन्धन मजबुद बन्नुपर्ने तर्क गर्नुभयो । केही मानिसहरुले महिला उम्मेदवारका बारेमा कसैको छोरी र श्रीमती भनेर कुप्रचार गरिरहेको भन्दै प्रचण्डले आपत्ति जनाउनुभयो ।
सभामा बोल्दै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको विरोधमा उत्रिएको बताउनुभएको छ । कांग्रेसको महाधिवेशन र केन्द्रीय समितिले गठबन्धनको पक्षमा निर्णय गरेपनि केही सीमित मान्छेहरू विरुद्धमा लागेको देउवाको टिप्पणी छ ।
गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्धक्कसँग तोकिएको चिन्हमा मतदान गर्न शीर्ष नेताहरुको अपिल छ । संयुक्त चुनावी सभाले गठबन्धनभित्रको अन्तरविरोध मत्थर हुने नेताहरुको आंकलन छ ।