काठमाडौं-स्थानीय तहको निर्वाचन आउन पाँच दिनमात्रै बाँकी रहँदा राजनितिक दलहरु चुनावी आमभसभामा व्यस्त रहेका छन् ।
यसअघि हिजो र अस्ति काठमाडौँ र चितवनको भरतपुरमा आमसभा गरेको सत्ता गठबन्धनले आज पोखरामा संयुक्त चुनावी सभा गरेको छ ।
चुनावी सभामा गठबन्धनका शीर्ष नेताहरुले आफ्ना उम्मेदवारलाई विजयी बनाउन अपिल गरिरहेका छन् । आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजको आवश्यकता गठबन्धन नै रहेको बताउनुभएको छ ।
ओली स्वयं र उहाँले नेतृत्व गरेको पार्टी प्रजातन्त्र, गणतन्त्रको खिलापमा रहेको उहाँले बताउनुभयो । एमालेले जित्यो भने ओलीले संसद भोलि नै भंग गरिदिनसक्ने भन्दै देउवाले स्थायित्व स्थिरताका लागि गठबन्धनलाई जिताउनु पर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताउनुभएको छ । पोखरामा संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेकोले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने दाबी गर्नुभयो । देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने भन्दै प्रचण्डले देशलाई फाइदा हुने बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्ट मिलेर मात्रै मुलुकमा परिवर्तन सम्भव भएको बताउनुभएको छ । दम्भ र घमण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विनाश गराएको नेपालको दाबी छ ।
गठबन्धन दलहरु संयुक्त चुनावी सभा गर्दै देश दौडाहमा लागेका बेला प्रमुख विपक्षी दल नेकपा एमाले पनि चुनावी सभामा व्यस्त छ । एमालेले आज बुटवलमा गरेको चुनावी सभामा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ५ दलीय छोडेर सबै दल एकातिर भएपनि नेकपा एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।