Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनभित्र एकीकृत समाजवादीलाई अलग्याउन खोजियो, चुनावपछि गम्भीर समीक्षा गर्छौंः झलनाथ खनाल

गठबन्धनभित्र एकीकृत समाजवादीलाई अलग्याउन खोजियो, चुनावपछि गम्भीर समीक्षा गर्छौंः झलनाथ खनाल

  • सोमवार, बैशाख २६ २०७९

  • 1.1K
    SHARES

  • गठबन्धनभित्र एकीकृत समाजवादीलाई अलग्याउन खोजियो, चुनावपछि गम्भीर समीक्षा गर्छौंः झलनाथ खनाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनभित्र कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई अलग्याउने रणनीति लिएकाले चुनावपछि गम्भीर समीक्षा गर्नुपर्ने औंल्याउनुभएको छ।

    नेपाली रेडियो नेटवर्क (एनआरएन)को कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भन्नुभयो, “६/७ महिनाको बीचमा हाम्रो पार्टी राष्ट्रव्यापी भइसकेको छ । तर मेचीदेखि महाकालीसम्मको सिनारियो हेर्दा पाँच दलभित्र दुई ठूला पार्टीले नेकपा (एकीकृत समाजवादी)लाई अलग्याउने रणनीति लिएको देखिएको छ । हामी गठबन्धनलाई सुदृढ गर्न चाहन्छौं तर हामीलाई उपयोग गर्न मात्र खोजियो । गठबन्धन कायम गर्ने हो भने नयाँ मान्यताको आवश्यकता छ । यो निर्वाचनपछि हामी गम्भीर समीक्षा गर्नुपर्छ ।”

    नेता खनालले गठबन्धन मुलुकको आवश्यकताको उपज भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा इलेभेन्थ आवरमा आएर गठबन्धन भयो । आफ्ना कार्यकर्ताहरुलाई समयमै कन्भिन्स गर्ने काम भएनन् । पार्टीभित्र विभिन्न धार उपधार देखिए । तालमेलको कुरा दुई महिना अघि नै छिनोफानो गर्नुपर्थ्र्यो । त्यसो नगर्दा समस्या आएको छ । दलहरुबीच मेल भएन भने गठबन्धन फेल हुन्छ । संविधान नमान्ने, अराजकता सिर्जना गर्ने गुट सरकारमा जान्छ । लोकतन्त्र डिरेल हुन सक्छ ।”

    कसैले हार्दा मुलुक दुर्घटना नहुने पनि खनालले औंल्याउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो हार वा जितलाई मुलुकको दुर्घटनासँग हेर्ने मानसिकता राख्नु दिँदैन । निर्वाचनमा भाग लिएपछि हार वा जित दुइटामध्ये एउटा हुन्छ । कसैको हारबाट दुर्घटना आइहाल्ला भन्ने निष्कर्षमा पुग्नुहुँदैन । चुनावमा जो कोही हार्न सक्छ वा जित्न सक्छ । यसबाट हामी अन्यथा निर्णय गर्दैनौं । यही निर्वाचनलाई निर्णायक पनि ठान्दैनौं ।”

    केपी ओलीको चाहनामा गठबन्धन नटुट्ने दृढता पनि उनले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “केपी ओलीले आफ्नो कुरा गरेका हुन् कि ज्योतिषीको कुरा गरेका हुन् ? केपी गुटको दम्भ वा घमण्डका आधारमा त्यो निर्धारण हुँदैन । म एमाले कार्यकर्तालाई दोष दिन चाहन्नँ । साढे ३ वर्षसम्म केपी ओलीको सरकारले भूमिसुधारको ‘भ’, कृषि क्रान्तिको ‘क’, औद्योगिक क्रान्तिको ‘अ’, गरिबी निवारणको ‘ग’, शिक्षा सुधारको ‘श’ उच्चारण गर्न सकेन । चीनसँगको सम्बन्ध चिस्याउने मात्र काम गर्यो । बीआरआई कार्यान्वयन भएन । उसलाई जनताले भोट किन दिने ? एकाध ठाउँमा गठबन्धन लागू नहोला, तर उनले फुँ गरेर गठबन्धन ढाल्छु भनेका छन् । झिँगाको सरापले डिँगा मर्दैन । कसैको षडयन्त्रले गठबन्धन टुट्ने वाला छैन ।”

    उहाँले इलाममा कलमोदय हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले म इलामको सूर्योदय नगरपालिकामा छु । विभिन्न ठाउँमा भाषण गरिरहेको छु । सूर्योदयमा अब कलमोदय हुन्छ । हामी इलाम जिल्लालाई लाल किल्ला बनाउन चाहन्छौं ।”


    सोमवार, बैशाख २६ २०७९०२:३०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij