काठमाडौं - काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखिको अग्रता कायम राखेका छन् ।
आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिएका उनले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता अझ फराकिलो बनाउँदै लगेका छन् ।
महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ । वडा नम्बर १ मा बालेनले ७८३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४५१ मत पाएकी छन् ।
वडा नम्बर २ मा बालेनले एक हजार २२०, स्थापितले ७२८ र सिंहले ४९७ मत प्राप्त गरेकी छन् ।
यी दुबै वडाको अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवारले भन्दा मेयरका उम्मेदवार स्थापितले कम मत पाएका छन् । वडा नम्बर १ का अध्यक्षमा निर्वाचित भरतलाल श्रेष्ठले ६२२ मत पाए, जुन स्थापितले पाएको भन्दा २५७ मत बढी हो ।
यस्तै, वडा नम्बर २ को अध्यक्षमा निर्वाचित राजेन्द्रकुमार श्रेष्ठले मेयरका उम्मेदवार स्थापितले भन्दा ६४९ मत बढी अर्थात् १ हजार ३७७ मत पाए ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समेत समर्थन पाएकी कांग्रेस उम्मेदवार सिंहले पनि आफ्नो पार्टीका वडाध्यक्षको उम्मेदवारले भन्दा कम मत पाएकी छन् ।
वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्षको उम्मेदवार किरण श्रेष्ठले ५९८, नेकपा माओवादी केन्द्रका अर्जुन महर्जनले ३८, एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले ३६ मत पाएका छन् । उनीहरु सबैले पाएको मत जोड्दा ६७२ पुग्छ, जुन मेयरका उम्मेदवार सिंहले पाएको भन्दा २२१ ले बढी हो ।