काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले आफ्नो मतान्तर बढाउँदै लगेपछि उनका प्रतिद्वन्द्वी एमालेका केशव स्थापित र सिर्जना सिंहबीच दोस्रो को हुने भन्ने चुनौति बढेको छ ।
लामो समय राजनीतिमा सक्रिय स्थापितलाई बालेनको हालको मतपरिणामले सोचमग्न तुल्याएको छ । केहीदिन अघिसम्म जित्ने दाबी गर्दै आएका स्थापित अहिले भने मौन बनेका छन् । उनका अभिव्यक्ति अहिले बन्द भएका छन् ।
सिंगो पार्टी पंक्ति लागेर स्थापितलाई सहयोग गरेपनि उनको हालको मतले एमालेमाथि नै नैतिक प्रश्न उब्जिएको छ । केही नेता कार्यकर्ताहरुले स्थापितलाई टिकट दिएर पार्टीले गलत गरेको अभिव्यक्ति दिन शुरु गरेका छन् । यद्यपि टिकट दिने समयमा भने एमालेका स्थापितको माहोल सर्वसम्मत बनेको थियो ।
यता, नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई पनि दबाब बढ्दै गएको छ । राजनीतिक घरानाकी बुहारी मात्र नभइ आफूपनि सक्रिय राजनीतिमा रहेकी सिंहलाई हालको मतले पेचिलो दबाब दिएको छ । आफ्नो पकेट क्षेत्रमा मतान्तर बढाउने आशामा रहेकी सिर्जनाको त्यो आशापनि निराशामा परिणत भएको छ । बालेनले हरेक वडाबाट आफ्नो दबदबा कायम गर्दै गएपछि उम्मेदवारद्वय सिंह र स्थापित कमजोर बन्दै गएका छन् ।
यता, बालेनले काठमाडौंको मेयर पदमा जित हासिल गरेपछि उनको भिजन अनुसार काम अगाडि बढे थप प्रशंसा हुने आंकलन गरिएको छ । मानव जीवनकालसम्म रहने फोहोरको समस्यालाई बालेनले समाधान गरी काठमाडौंको विकासलाई व्यवस्थापन मात्रै गर्नसके उनको थप चर्चा हुनेछ ।
महानगरमा आउँदा उनलाई काम गर्न समस्या हुने विश्लेषण भइरहेका बेला काम गर्ने जाँगर चलाएर योजनाहरु अगाडि ल्याए गाह्रो नहुने जानकार बताउँछन् । जनताले परिवर्तित विकास खोजेकोले बालेनको अवधारणा लागू हुन समस्या नहुने देखिएको छ ।