काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ ले भेटवार्ता गर्नुभएको छ ।
ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भएको भेटमा नागरिकता विधेयक लगायत समसामयिक राजनीतिक विषय, सङ्घीय संसद् सञ्चालन र सरकारले संसद्मा पेस गर्न लागेको विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरू बीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको छ । यसअघि पनि गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्नुभएको थियो ।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गर्नुभएको हो ।