Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मधेसमा ओली ‘मिसन’ सफल – पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै

मधेसमा ओली ‘मिसन’ सफल – पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै

  • शनिवार, जेठ ७ २०७९

  • 839
    SHARES

  • मधेसमा ओली ‘मिसन’ सफल – पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ चैतमा मधेसका विभिन्‍न दल त्याग गरेका नेताहरूलाई भित्र्याउँदै भनेका थिए, ‘एमाले नै जय मधेसवाला पार्टी हो ।’

    मधेस प्रदेशको विकास र समृद्धिको वाहक एमाले हुन्छ भन्‍ने अर्थमा ओलीले यसो भन्नुभएको हो । ओलीको यो अभिव्यक्ति मधेसका मतदातालाई एमालेतर्फ प्रभावित पार्न लक्षित थियो ।

    ठीक एक महिनापछि ९ वैशाखमा स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमाले मधेसमा शक्तिशाली दल भएर उदाउने र त्यसले राजनीतिक शक्ति सन्तुलनमा फेरबदल हुने बताएका थिए।

    ओलीको उक्त अभिव्यक्तिलाई स्थानीय तह निर्वाचनको परिणामले सत्य भएको पुष्टि गरिदिएको छ । किनभने केही स्थानीय तहको मतगणना बाँकी छँदै मधेस प्रदेशमा एमालेले दोस्रो दल बन्‍ने छनक देखाएको छ ।

    यसअघि २०७४ सालको निर्वाचनले एमाले १८ स्थानीय तहमा जित निकाल्दै पाँचौं दलको हैसियतमा खुम्चिएको थियो ।

    निर्वाचन आयोगले अद्यावधिक गरेको शनिबार बिहान ११ बजेसम्मको विवरणलाई आधार मान्दा एमालेले अघिल्लो पटकभन्दा बढी दुई वटा स्थानीय तह जितेर २० वटा पुर्‍याएको छ । नौं वटा स्थानीय तहमा भने अग्रता छ । अग्रता भएकामा पनि जित भए मधेस प्रदेशमा एमालेको २९ स्थानीय तहमा जित हुनेछ ।

    जनता समाजवादी पार्टीको पनि जित भएको स्थानीय तह २० वटा नै हो । तर, अग्रता सात वटा स्थानीय तहमा मात्र छ ।

    सोही कारण एमाले दोस्रो दल हुने सम्भावना बढेको हो । जबकि, एमाले विभाजित अवस्थामा निर्वाचनमा गएको हो । प्रदेश संसद्‍मा एमाले फुटेर बनेको दल नेकपा ९एकीकृत समाजवादी० पार्टीभन्दा सानो छ ।

    तर, २६ स्थानीय तह जितेर २०७४ सालमा दोस्रो दल बनेको जनता समाजवादी पार्टीलाई पछि पार्ने अवस्थामा एमाले पुगेको छ । नेकपा (माओवादी केन्द्र)ले त अघिल्लो पटक २१ स्थानीय तह जितेकोमा यस पटक १० स्थानीय तह जितेको छ ।

    माओवादी आधा सङ्ख्यामै खुम्चिनु परेको छ । मधेसमा माओवादी नेता प्रभु साह एमालेमा गएपछि माओवादी खुम्चिएको कतिपयको विश्लेषण छ । अघिल्लो निर्वाचनमा चौँथो बनेको दल लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राष्ट्रिय जनता पार्टीे) पनि पहिलेकै सङ्ख्यामा जित निकाल्ने अवस्थामा देखिएको छैन ।

    यद्यपि, एमाले भने निर्वाचनबाट मधेसमा शक्तिशाली दलको रूपमा उदय भएको छ । कांग्रेसको प्रतिस्पर्धी दल बन्‍ने देखिएको छ ।

    मधेसमा एमालेको चुनावी कमान्ड सम्हालेका पार्टी केन्द्रीय सचिव रघुवीर महासेठले एमाले शक्तिशाली पार्टीको रूपमा देखिनुमा मधेसी नागरिकको एमालेप्रति छुट्टै खालको आकर्षण रहेको बताएका छन्।

    ‘मधेसमा एमालेलाई शक्तिशाली दल हुनबाट कसैले रोक्न सक्दैन । जुन कुरा यो निर्वाचनले पुष्टि गरिदियो’, उनले भने, ‘मधेसी नागरिकको विश्‍वास एमालेमाथि छ । किनभने एमाले मधेसहित सिङ्‍गो देशको विकास गर्ने पार्टी हो ।’

    उनले मधेसलाई एमालेमय बनाउन चाहेको बताएका छन्।


    शनिवार, जेठ ७ २०७९११:३९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij