काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले परम्परागत संस्कार चिर्न सफल भएको दाबी गर्नुभएको छ । बजेट वक्तव्य लगत्तै सोमबार पत्रकार सम्मेलन गरेका अर्थमन्त्री शर्माले पहिलो पटक बजेट उत्पादन केन्द्रित, जन अपेक्षा अनुरूप तथा वर्तमान मागको आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको बताउनुभयो ।
‘बजेटको परम्परा के छ भने, मेरो क्षेत्रमा बजेट पर्यो कि परेन?, कति पर्यो ? यस्तो चासो छ’ अर्थमन्त्री शर्माले भन्नुभयो ।, ‘वास्तविक बजेटले महत्त्व विकास निर्माणलाई, वास्तविक विकासलाई, रोजगारीलाई, शिक्षा स्वास्थ्यलाई तथा भौतिक पूर्वाधारलाई महत्त्व दियो कि दिएन ? सम्बोधन गर्यो कि गरेन ? भन्ने मुद्दा महत्त्वपूर्ण हो । जुन अहिलेको बजेटले सम्बोधन गरेको छ’ अर्थमन्त्री शर्माले भन्नुभयो ।
खासगरी आगामी आर्थिक वर्ष २०७९-८० को बजेटले हाल आन्तरिक तथा बाह्य क्षेत्रको प्रभाव मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव, तीव्र आयात वृद्धि, विदेशी मुद्रा सञ्चितमा परेको प्रभाव र बजार महँगीलाई ध्यानमा राखेर बजेट ल्याइएको बताउनुभयो । बजेटले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने प्रयास गरेको उहाँले बताउनुभयो ।
बजेटले कृषि र किसानलाई सम्बोधन गरेको, निजी व्यवसायीहरूलाई सम्बोधन गरेको र समग्र मुलुकको आर्थिक रूपान्तरणकै लागि केन्द्रित भएको शर्माले बताउनुभयो । सरकारले आइतबार अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।