काठमाडौं । यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक र डा. विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक रहेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
संकल्प प्रस्ताव पेस गर्दै सांसद पन्तले नेपालमा बाल यौनजन्य कसुर तथा बलात्कारजस्तो जघन्य अपराध गर्ने प्रवृत्ति झनै बढेको बताउनुभयो ।
उहाँले यससम्बन्धी अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी नेपालका विद्यमान कानूनहरुमा भएको व्यवस्था अत्यन्तै अनुपयुक्त र अव्यवहारिक तथा पीडकमैत्री रहेको बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले अपराधीलाई सजाय जन्मकैदसम्म हुनसक्ने तर उजुरी एक वर्षसभत्र नदिए नलाग्ने भन्ने कानूनी व्यवस्था उचित नरहेको बताउनुभयो ।
राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले बलात्कारसम्बन्धी सजायमा पुनरावलोकन जरुरी रहेको बताउनुभयो ।