Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केपी ओलीका कट्टर आलोचकहरुलाई मन्त्रीको प्रस्ताव, नेकपा विवाद समाधानतिर

केपी ओलीका कट्टर आलोचकहरुलाई मन्त्रीको प्रस्ताव, नेकपा विवाद समाधानतिर

  • बिहिवार, भाद्र ४ २०७७

  • 2.4K
    SHARES

  • केपी ओलीका कट्टर आलोचकहरुलाई मन्त्रीको प्रस्ताव, नेकपा विवाद समाधानतिर

    काठमाडौँ –प्रधानमन्त्री समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि उत्पन्न विवाद गुट व्यवस्थापनको बिन्दुमा सहमति खोजेर समाधानको चरणमा पुगेको छ। 

    पार्टीमा उत्पन्न विवाद समाधानका लागि गठित कार्यदलले पार्टीका ठूला तीनवटा गुटलाई समान हैसियत र अवसर दिने ढंगले समाधानको सुत्र पहिल्याएको श्रोतको दाबी छ।

    पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसहित अन्य शीर्ष नेताहरुका पछिल्ला अभिव्यक्तिले पनि गुट व्यवस्थापनका विषयमा सहमति खोज्दै पार्टीको विवाद समाधानतर्फ उन्मुख रहेको प्रष्ट संकेत दिएको छ।

    अध्यक्ष प्रचण्डले केपी ओलीले अब दुवै पदबाट राजीनामा नदिए पनि हुने गरि विवाद समाधानतर्फ ढल्केको बुधबार एक टेलिभिजनसँगको अन्तर्वातामा बताउनुभएको छ।

    उहाँले मन्त्रीपरिषद फेरबदल हुने, प्रदेश सरकारहरुमा पनि हेरफेर हुने र संवैधानिक निकायमा हुने नियुक्तिमा पनि सबै पक्षलाई समेटेर अघि बढ्ने ढंगले समाधान खोजिन थालिएको स्पष्ट बताउनुभएको छ।

    उक्त अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले अब केपी ओलीले दुवै पदबाट राजीनामा नदिए पनि विवाद समाधान हुने दाबी गर्नुभएको छ।यस्तै वरिष्ठ नेता माधव कुमार नेपाल समूहले पनि अब ओलीको दुवै पदमाथि आइलागेको संकट टरेको बताएको छ।

    नेपाल समूहकी एक प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्यले ओलीको राजीनामा एउटा परिस्थितिमा मागिएको तर अहिले पार्टीको सिनारियो फेरबदल भइरहेको बताउनुभयो।

    हिजोका दिनमा ओलीलाई अब एक मिनेट पनि पदमा राख्न नहुने अभिव्यक्ति दिने शाक्यले आज नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै ओलीलाई दुवै पदबाट हटाउने अडानबाट आफूहरु पछि हटेको संकेत दिनुभयो।

    उहाँले विगतमा कमीकमजोरी भएको र त्यसलाई सुधार गर्नुपर्ने महसुस ओलीबाट भएको हुन सक्ने आफूले ठानेको बताउनुभयो।

    श्रोतका अनुसार गुट व्यवस्थापनको मुद्दामा शाक्यलाई पनि पदको प्रलोभन मिलेको छ। उहाँले प्रदेश सरकारहरु फेरबदल हुने ढंगले छलफलहरु भइरहेका स्वीकार गर्नुभयो। तर आफूलाई मन्त्री बन्ने प्रस्ताव भने औपचारिकर रुपमा अहिलेसम्म नआएको उहाँले दाबी गर्नुभयो।

    शाक्यसँगै प्रधानमन्त्री ओलीका कट्टर आलोचक नेता भीम रावललाई पनि मन्त्री बनाउने तयारी भइरहेको उच्च श्रोतको दाबी छ।

    यसैबीच विवाद समाधानका लागि कार्यदलले काम गरिरहेकै बेला प्रधानमन्त्री ओलीले धमाधम विभिन्न पदमा आफ्ना व्यक्तिहरुलाई नियुक्त गरेपछि पार्टीको विवाद फेरि बढेको छ।

    अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै सरकारबाट भएका पछिल्ला नियुक्ती फिर्ता लिन माग गर्दै अन्यथा कार्यदलको काम प्रभावित हुने चेतावनी दिनुभएको छ।

    वरिष्ठ नेता झलनाथ खनालले पनि विवाद समाधानका लागि कार्यदलले काम गरिरहेका बेला सरकारका पछिल्ला नियुक्तिहरु उचित नभएको भन्दै पार्टीले आपत्ति प्रकट गरिसकेको जानकारी दिनुभयो।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

    एकातिर पार्टीमा छलफल गरेर सबैको सहमतिका आधारमा सरकार सञ्चालन गर्ने भन्ने तर अर्काेतिर धमाधम आफूनिकट व्यक्तिहरुलाई प्रधानमन्त्रीले विभिन्न पदमा नियुक्त गर्ने गरेपछि दाहाल फेरि शशंकित बन्नुभएको हो ।

     


    बिहिवार, भाद्र ४ २०७७०७:३५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij