काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल कुनै पनि सैन्य साझेदारीमा सहभागी हुन नसक्ने दाबी गर्नुभएको छ। बुधबार(आज) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रस्तावबारे सरकारसँग जवाफ माग गर्नुभयो
उहाँले कांग्रेसको पनि यही धारणा भएकाले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा उभिएर जवाफ दिनुपर्ने माग गर्नुभयो।
‘नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा नेपाल सहभागी हुन पाउँदैन र सक्दैन’, उनले भने, ‘नेपाली कांग्रेस र नेपाल यस्ता प्रकृतिको सम्झौतामा सहभागी हुन सक्दैन। प्रधानमन्त्रीले आजैको संसद्मा आएर जवाफ दिन सभामुखसँग माग गर्दछु।’
उहाँले यस विषयमा समाचारहरू प्रशस्त आएका भन्दै विगतदेखिका रक्षामन्त्री सकारात्मक रहेको भनिएको पनि सुन्नमा आएकाले सदनमा जवाफ प्रष्ट आउनुपर्ने बताउनुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको समयमा सैन्य सम्झौता हुने भनी केही मस्यौदा सार्वजनिक भएको थियो। उक्त मस्यौदालाई लिएर अहिले विवाद सुरु भएको छ।