काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले दुई–तीन पटक संसद् विघटन गर्नेलाई देश निकाला गर्ने गरिएको भन्दै नेपालमा त्यस्तो व्यवस्था हुन्छ कि हुँदैन भनेर प्रश्न उठाउनुभएको छ।
बिहीबार(आज) अर्थ मन्त्रालयको बजेटमाथि छलफल गर्ने क्रममा मोदीले प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई लक्षित गरेर यस्तो प्रश्न गर्नुभएको हो।
‘अन्य संसारको उदाहरण हेर्दा दुई–दुई पटक, तीन–तीन पटक संविधान उल्लघंन गरेका कयौं त्यस्ता दलहरूलाई जनताले त बहिस्कार गर्छ, गर्छ देश निकाला गर्छन्। उहाँहरूलाई त धन्न देश निकाला गरेन। त्यो व्यवस्था हुन्छ कि हुँदैन ?,’ मोदीले भन्नुभयो।
उहाँले ९ महिना संसद् विघटन गरेको र ९ महिना संसद् अवरुद्ध गरेको भन्दै त्यसको तलब भत्ता लिएको छ कि छैन भनेर समेत एमाले सांसदहरूलाई प्रश्न गर्नुभयो। मोदीको प्रश्न छ, ‘९ महिना संसद् विघटन भयो। ९ महिना संसद् विघटन गर्दा उहाँहरूले तलब भत्ता लिनु भयो कि भएन ? त्यसपछि ९–९ महिना संसद् अवरुद्ध गर्नु भयो त्यसको तलब भत्ता लिनु भयो कि भएन ?’