काठमाडौं । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अघि रोहिंग्या शरणार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन् । विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् ।
म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रुपमा आएका उनीहरूले यूएनएचसीआरले चासो नदिएको गुनासो गरे । यूएनएचसीआरले आर्थिक तथा सामाजिक गतिविधिहरूमा चासो नदिँदा मानव अधिकारको हनन भएको उनीहरूको भनाइ छ ।
प्रदर्शनकारीहरूले प्रहरी हिजो प्रशासनबाट महिला, बालबालिकाहरू कसैको प्रवाह नगरी लाठी चार्ज गरेर निर्दयको भाव देखाएको बताए ।
रोहिंग्या शरणार्थीहरूले बालबालिकाहरूको अधिकार हनन गरिरहेको भन्दै हिजोबाट विरोध प्रदर्शन गरिरहेको छ । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारलाई यूएनएचसीआरले नियमतः पालना नगर्दा आफ्ना बालबालिकाहरूको अधिकार हनन भएको उनीहरूको गुनासो छ ।