काठमाडौं । गत असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक बिहीबार पनि बस्न सकेको छैन । सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुटन नसकेपछि आजको बैठक स्थगित गरिएको छ । अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागी बोलाइएको छ ।
संसद् बैठकअघि सर्वदलीय बैठक बोलाइएको थियो, जहाँ सत्ता र प्रतिपक्षले आ-आफ्नै अडान राखेका छन् ।
प्रदेश सभा गत असार १२ गतेदेखि अवरुद्ध हुँदै आएको छ । यो बिचमा लगातार सर्वदलीय बैठक बस्दा पनि कुनै टुङ्गो नलागेको सभामुख राजबहादुर शाहीले बताउनुभयो ।
एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटको किताब तथ्यगत रूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने लगायतका अडान राखेको छ ।
सत्तापक्ष र प्रतिपक्षबीचको टकरावका कारण अहिलेसम्म बजेटको विषयमा कुनै छलफल हुन सकिरहेको छैन ।