Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नयाँ पार्टीका लागि अध्यक्षको खोजीमा बाबुराम

नयाँ पार्टीका लागि अध्यक्षको खोजीमा बाबुराम

  • बुधवार, श्रावण ४ २०७९

  • 860
    SHARES

  • नयाँ पार्टीका लागि अध्यक्षको खोजीमा बाबुराम

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को कारवाहीमा परेका डा.बाबुराम भट्टराई नयाँ पार्टी गठनको गृहकार्य सूरु गर्नुभएको छ । डा.भट्टराईले सो पार्टीको अध्यक्ष बन्न अनिच्छा व्यक्त गरेसँगै कसलाई अध्यक्ष बनाउने भन्नेमा अन्योल देखिएको छ ।

    नयाँ पार्टीमा डा.भट्टराईले कार्यकारी भूमिकामा नरहने प्रस्ट पारिसक्नुभएको छ । जसपामा जुन भूमिकामा थिए, नयाँ पार्टीमा पनि त्यही भूमिकामा रहने वा अन्य अभिभावकीय भूमिकामा रहने तर कार्यकारी पदमा नरहने योजनामा हुनुहुन्छ ।

    नयाँ पार्टीको अध्यक्ष बन्ने लाइनमा महेन्द्र राय यादव र राजकिशोर यादव छन् । पार्टीको नेतृत्वमा हिसिला यमी, गंगा श्रेष्ठको नाम पनि चर्चामा आइरहेको छ । बाबुराम पक्षका एक नेताले भने, ‘बाबुरामजी अध्यक्ष बन्ने इच्छा नदेखाएपछि पूर्व नयाँ शक्तिबाटै कसैले नेतृत्व गर्नुहुन्छ ।’

    महेन्द्रराय यादव र राजकिशोर यादवलाई पूर्व नयाँ शक्तिका नेताहरु अध्यक्ष स्वीकार गर्ने पक्षमा नरहेको ती नेताले बताए । बाबुराम अध्यक्ष नबनेपछि हिसिला यमी, गंगा श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंहलगायतले दाबी गर्न सक्ने उनको भनाइ छ । पूर्व नयाँशक्ति पक्षका नेताहरुले महेन्द्र तथा राजकिशोरलाई अध्यक्ष नदिने अडान राखेको उनको दाबी रहेको छ । तर स्वयं बाबुराम भट्टराई भने महेन्द्र वा राजकिशोरमध्ये एक जनालाई नेतृत्व दिने पक्षमा छन् ।

    बाबुराम निकट एक नेताले भने, ‘बाबुरामजी आफू अध्यक्ष नबन्ने भएपछि महेन्द्र वा राजकिशोरमध्ये एक जना कसैलाई अध्यक्ष बनाउने पक्षमा हुनुहुन्छ ।’ महेन्द्र राय यादव सुरुदेखि बाबुराम भट्टराईलाई साथ दिँदै आएका छन् । महेन्द्र राय यादव अहिले पनि बाबुराम भट्टराईको सम्पर्कमा हुनुहुन्छ । बाबुराम भट्टराईसँग उहाँको नियमित संवाद भइरहेको स्रोत बताउँछ ।

    नयाँ पार्टी बनाउने कि अरु कुनै उपाय खोज्ने भन्ने विषयमा उनीहरुको बीचमा कुराकानी भइरहेको स्रोतले जनाएको छ । बाबुराम भट्टराईले जसपामा विद्रोह गर्न केही हतार गरेको राजकिशोर यादवको धारणा छ ।

    जसपामा बाबुराम पक्षका नेता प्रशान्त सिंहका अनुसार अहिले हरेक कुराको गृहकार्य भइरहेको छ । पार्टी पुनर्गठनदेखि लिएर नयाँ पार्टी बनाउनेसम्मको गृहकार्य भइरहेको छ ।’ नयाँ पार्टी नै बन्ने तय भइसकेपछि मात्र त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा प्रवेश गरिने उहाँले बताउनुभयो ।

    असार २८ र २९ गते बसेको केन्द्रीय समितिको बैठकमा उठेको कुरा, त्यसपछि दलका विभिन्न नेताहरुसँग गरिएको कुराकानीलाई एक ठाउँमा ल्याएर विश्लेषण गरी एउटा कुनै निर्णय लिने उहाँले बताउनुभयो ।

    उहाँले मोटामोटी उपेन्द्र यादवको साथमा रहेर काम नगर्नेमा सबै नेताहरु सहमत भइसकेको तर त्यो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल चलिरहेको प्रस्ट पार्नुुभयो ।

    बाबुराम पक्षका कतिपय नेताहरु माओवादी पार्टीमा फर्किने सोच पनि बनाइ रहेका छन् । माओवादीबाट नयाँ शक्तिमा आएका अधिकांश नेताहरु माओवादीमै फर्किने मुड बनाइसकेको स्रोतले जनाएको छ । तर नयाँ शक्ति बन्दा अन्य दल वा फरक पृष्ठभूमिबाट आएका नेताहरु माओवादीमा फर्किन चाहेका छैनन् । प्रशान्त सिंह, डम्बर खतिवडालगायतका नेताहरु माओवादीमा फर्किने मुडमा छैनन् । स्रोतका अनुसार हिसिला यमी, गंगा श्रेष्ठ, रमेश मल्ललगायतका नेताहरु माओवादीमा फर्किन चाहेका छन् । मंगलबार डा।बाबुराम भट्टराईसँग भएको भेटमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भट्टराईलाई माओवादी केन्द्रमै आउन आग्रह गरेका थिए । तर भट्टराईले त्यसमा कुनै जवाफ नदिएको स्रोतको दाबी छ ।


    बुधवार, श्रावण ४ २०७९०१:३८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij