काठमाडौँ – डेभलमेन्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकालले लकडाउन जारी राख्दा अर्थतन्त्र तहसनहस हुने खतरा बढेको बताउनु भएको छ।
नेपाली रेडियो नेटकर्कको कार्यक्रम अर्थ सम्वादमा पत्रकार टि.पी.भुसालसँग कुरा गर्दै ढकालले स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्दै अर्थतन्त्र चलायमान बनाउने तर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो।
‘बन्द गरेर हुने भए चार÷ पाँच महिना देखि बन्द नै छ। अहिले पनि अघोषित लकडाउन नै छ। तर बन्द नै समस्याको समाधान होइन भन्ने कुरा बुझ्न आवश्यक छ,’ उहाँले भन्नुभयो।
ढकालले ठूलो संख्यामा रहेका विकास बैंकहरु मर्जरमा गएर अहिले सानो संख्यामै रहेकोले अब मर्जरको आवश्यकता नभएको बताउनुभयो।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) समेत रहेका ढकालले विकास बैंक र वाणिज्य बैंकको कार्यक्षेत्र नै फरक रहेकाले यी दुई बैंक बीच प्रतिस्पर्धा नहुने बताउनुभयो।
अब युजिभर्सल बैकिङ प्रणाली अनुसार जानु पर्ने आवश्यक्ता रहको भन्दै उहाँले समय क्रममा त्यसतर्फ जानुको विकल्प नभएको धारणा राख्नुभयो।
बैंकहरुमा तरलता बढ्दा बैंकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा बढिरहेको भन्दै उहाँले बैंकहरुबीच स्वस्थ प्रतिष्पर्धा आवश्यक भएको धारणा राख्नु भयो।
डेभलमेन्ट बैैकर्स एशोसियसन नेपालका अध्यक्ष ढकालसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।