काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आइतबार आज तेस्रो खेलमा साबिक विजेता भारतको सामना गर्दै छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।
भारतविरुद्ध मैदान उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन । पहिलो खेलमा नेपालले मालदिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले हराएको थियो ।
नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ ।
५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।