काठमाडौं । आज बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति तोक्ने आङ्कलन गरिए पनि अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्ने नबस्ने नै टुङ्गो लागेको छैन ।
सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरे पनि सोमबार बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्योल उत्पन्न भएको छ । मन्त्रीहरूले बैठकबारे दिउँसोसम्म कुनै खबर नआएको बताएका छन् ।
‘पौने २ बजेसम्म मन्त्रिपरिषद् बैठक बस्ने नबस्ने कुनै खबर आएको छैन’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले भन्नुभयो । ‘मन्त्रिपरिषद्को नियमित बैठक बस्नुपर्ने चाँही हो ।’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले पनि अहिलेसम्म बैठकबारे निश्चित भई नसकेको बताउनुभएको छ । उहाँले अहिलेसम्म बैठक बस्ने समय नतोकिएकाले आजको सम्भावना कम रहेको बताउनुभयो ।
निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । तर सरकारले भने चुनावको मिति तोक्न ढिलाइ गर्दा मंसिरमा निर्वाचन हुने नहुने भन्नेमा अन्योल बढ्न पुगेको छ ।