काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरमा बम पड्काइएको दाबी गर्दै सुरक्षा माग गर्नुभएको छ । उहाँले पूर्वराज्यमन्त्रीको हैसियतमा आफूलाई आजीवन निजी सुरक्षा अधिकारी ९पीएसओ० माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गुरुङले आफूमाथि सुरक्षा खतरा रहेको भन्दै सभामुखमार्फत गृहमन्त्री र सरकारलाई सुरक्षा दिन माग गर्नुभएको हो ।
’हिजो राति ८ बजेर २५ मिनेटमा देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरूले गेटभित्र बम पड्कायो । घरका सबै आतंकित भए । झ्याल खोलेर हेरे २ जना लोग्ने मानिस मोटरसाइकलमा गएको देखे । अँध्यारो भएकाले चिन्न सकिनँ,’ सोमबार भएको भनिएको घटना उल्लेख गर्दै उहाँले भन्नुभयो, ’महाराजगन्जको फोन खोजेर प्रहरीलाई फोन गरे । गृहमन्त्रीलाई फोन गरेको उठेन । कम्पाउन्डभित्र रकेट बमको खोल भेटियो‚ जुन प्रहरीले लगेर गए ।’
त्यसपछि सांसद गुरुङले पूर्वराज्यमन्त्रीको हैसियतमा आफूलाई आजीवन सुरक्षा दिन माग गर्नुभएको हो । उहाँले भन्नुभयो, ’पूर्वराज्यमन्त्रीले पाउनुपर्ने पीएसओ आजीवन दिन सभामुखमार्फत गृहमन्त्री र सरकारसँग माग गर्दछु ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा २०७८ जेठ ८ मा विघटन गरेपछि जसपाको महन्त ठाकुर पक्षबाट गुरुङ राज्यमन्त्री बन्नुभएको थियो । उहाँ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राज्यमन्त्री बन्नुभएको थियो ।