काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुसार समायोजनको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
बुधबार(आज) आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले उक्त विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुका नेताहरूले आयल निगमका उच्च अधिकारीहरूलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आईओसीले नेपाललाई मूल्य घटाएर पठाउँदा समेत नेपाल आयल निगमले समायोजन नगरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नुका साथै,मूल्य वृद्धि फिर्ता गर्, पेट्रोलियम पदार्थको मूल्यवृद्धि समायोजन गर्,स्वचालित मूल्य प्रणाली कायम गर्, जनताको चुलो निभाउन पाइँदैन,जस्ता नारा समेत लगाएका थिए ।
अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष आरसी लामिछानेले पेट्रोलियम पदार्थको स्वचालित रुपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने बताउनुभएको थियो । यस्तै अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिबद्ध रहेको प्रतिक्रिया दिनुभएको छ ।
निगमले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले माग पूरा गर्न नसकेको बताउनुभएको थियो ।