काठमाडौं । जनता समाजवादी पार्टीले आगामी मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार बन्न २ मापदण्ड र ७ योग्यता प्रस्ताव गरेको छ । जसपाको राजनीतिक समिति बैठकको प्रस्तावमा अध्यक्ष उपेन्द्र यादवले मापदण्ड र योग्यता प्रस्ताव गर्नुभएको हो ।
उम्मेदवार बन्न मूल मापदण्ड पार्टी र समाजमा लोकप्रिय, सक्षमता, दक्षता, निष्पक्षता र निरन्तरता रहेको छ । अर्को मापदण्डमा प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको गहन अध्ययन र विश्लेषणबाट निर्क्योल गरिने बताइएको छ ।
यस्तै ,उम्मेदवार बन्न पाँचवटा योग्यता तय गरिएका छन् । जसमा पार्टीको विचार नीति, सिद्धान्त र कार्यक्रमलाई आत्मसाथ गर्ने, पार्टीको समितिमा संगठित र सक्रिय रहेको, पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने, स्वच्छ सामाजिक छवि तथा नैतिकवान् भएको हुनु पर्ने छ ।
यस्तै, निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको, सम्बन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको र सुशासनको प्रत्याभूत गर्न सक्ने योग्यता तोकिएको छ ।
यसैगरी, उम्मेदवार छनोटको प्रक्रिया समेत प्रस्ताव गरिएको छ । उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिले आवश्यक छलफल गरी योग्य उम्मेदवारहरूका नामावली आ–आफ्नो जिल्ला समन्वय समितिलाई यही भदौ ११ गतेभित्र सिफारिस गर्नुपर्नेछ ।
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिबाट सिफारिस भई आएका नामावलीमध्ये छलफल गरी जिल्ला समन्वय समितिले ५ जनासम्म उम्मेदवारहरूको नामावली माथिल्लो (प्रदेश) समितिलाई भदौ १६ गतेभित्र सिफारिस गर्नुपर्नेछ ।
प्रदेश समितिले जिल्ला समन्वय समितिबाट सिफारिस भई आएको नामावलीउपर छलफल गरी ३ जना प्रस्तावित उम्मेदवारको नाम संसदीय बोर्डमा भदौ २० गतेभित्र सिफारिस गरी पठाउन भनिएको छ । संसदीय बोर्डले प्रस्तावित भइआएका उम्मेदवारहरूको सम्बन्धमा आवश्यक छानबिन गरी भदौ २५ गतेभित्र केन्द्रीय कार्यकारिणी समितिमा पठाउने प्रस्ताव छ ।
उम्मेदवारहरूको नामावली सिफारिस गर्दा महिला उम्मेदवारहरूलाई समावेश हुने गरी समावेशितालाई समेत ध्यान पुर्याउने भनिएको छ ।