काठमाडौं । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले मन्त्रालय तथा कर्मचारीहरुले गर्ने कामले जनतालाई छुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
सोमबार उर्जा, जलस्रोत तथा सिंचार्इ मन्त्रालय लुम्बिनीको प्रथम वार्षिकउत्सव तथा प्रदेश जलस्रोत दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री रानाले जनता नै सर्वोपरि रहेको बताउँदै जनताले प्रदेश सरकाको अनुभुती हुनेगरी काम गर्न निर्देशन दिनुभएको हो । कर्मचारी तथा नेता र मन्त्री पनि भविष्यमा जनतानै बन्नुपर्ने भएकोले आफ्नैलागि जसरी काम गर्न उहाँको आग्रह छ ।
पहिले मन्त्रालयको एक महाशाखाको रुपमा रहेको उर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रको विकास गर्ने उद्देश्यले छुट्टै मन्त्रालयको रुपमा स्थापना गरिएको बताउँदै उहाँले सिमित स्रोतसाधनको समसचित उपयोग गरि जनतालाई अधिकतम सेवा प्रदान गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।
मुलुकमा ब्यवस्था परिवर्तन भएपनि काम गर्ने पुरानो शैली र प्रवृत्ति नबदलिएका कारण जनताको जीवनस्तर नबदलिएको भन्दै मन्त्री रानाले काम गर्ने पुरानो शैली र प्रबृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले मन्त्रालयबाट उत्कृष्ट सेवा प्रदान गर्दै जनतालाई सहज हुने काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले जनताको हितको लागि कामहरू गर्नुपर्ने बताउँदै जनताको चाहाना अनुसारका कामहरू गर्न सकेमा प्रीय बन्नसक्ने भन्दै कृषकहरु एवं जनतालाई उत्साह प्रदान हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयले वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७८–७९ मा २६५८ हेक्टर थप जमिनमा सिंचार्इ सुविधा विकास गरिएको जनाएको छ।
लुम्बिनीमा १२०१७ हेक्टर जमिनमा सिंचार्इ सुविधा थप भएको मन्त्रालयले जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। साथै मन्त्रालयले ७९९७ हेक्टर जमिनको सिंचार्इ संरचना सुदृढीकरण गरिएको ,३७० हेक्टर खेतीयोग्य जमिन तटवन्धबाट उकास भएको, ५१६४ घर तथा ११११ हेक्टर खेतियोग्य जमिन तट्बन्ध गरि सुरक्षित गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
वार्षिकोत्सवको अवसरमा मन्त्रालयले उत्कृष्ट कर्मचारीको रुपमा उर्जा जलस्रोत तथा सिंचाई सवडिभिजन कार्यालय पुर्वी रुकुममा कार्यरत कार्यालय प्रमुख योगेन्द्र महतो र उत्कृष्ट कार्यालयको रुपमा जलस्रोत तथा उर्जा डिभिजन कार्यालय रुपन्देहीलाई सम्मान गरेको छ ।
त्यस्तै गुमानखोला कालीजंग सिचाई उपभोक्ता समिति रोल्पा, माकर डिप ट्युवेल जलउपभोक्ता समिति वर्दघाट नवलपरासी र प्रगन्ना वर्कनापथ कुलो सिंचाई आयोजना दाङलाई उत्कृष्ट उपभोक्ता समितिको रुपमा ८ हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरेको छ ।
मन्त्रालयका सचिव दीपक घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्रालयका जलस्रोत तथा सिंचार्इ विकास महाशाखा प्रमुख ध्रुव राज पौडेल, प्रशासन महाशाखा प्रमुख रमेश गौतम, पुरस्कृत कर्मचारी योगेन्द्र महतो, पुरस्कृत उपभोक्ता महदत्त सुवेदी लगायतले आ आफ्नो भनाइ राखेका थिए ।