काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर बुझाउन पत्र काटेको छ ।
महानगरका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बुधबार(आज) पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) वर्षौंदेखि नबुझाएको र पटक पटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गर्नुभएको छ ।
हालसम्म बुझाउन बाँकी रहेको कर जरिबानासहित तिर्न फनपार्कलाई अल्टिमेटम दिइएको हो ।
‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न हुन अनुरोध छ’, महानगरको पत्रमा भनिएको छ ।
महानगरले तोकिएको समयमा नबुझाए फनपार्क सिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकीसरह असुल गरिने जनाएको छ ।
समाजकल्याण परिषद्को स्वामित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ । काठमाडौं फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।
सामाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपाने र टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध यस अघि भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो ।
