Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा धुमधामका साथ गौरा भित्र्याइयो

सुदूरपश्चिममा धुमधामका साथ गौरा भित्र्याइयो

  • शुक्रवार, भाद्र १७ २०७९

  • 735
    SHARES

  • सुदूरपश्चिममा धुमधामका साथ गौरा भित्र्याइयो

    काठमाडौं । गौरा पर्व मनाइने सुदूरपश्चिम प्रदेशका घर तथा मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । ब्रत बसेका महिलाले सामूहिकरुपमा धान, साउँ, कुस, अपामार्गलगायतका बोटबिरुवा प्रयोग गरी गौरा देवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठनाका साथ गौरा भित्र्याएका हुन् । सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ हेरिन्छ ।

    हिन्दू महिला नजिकैको खेतमा गएर तयार पार्ने गौराको प्रतिमालाई माङ्गल गीत र फाग गाउँदै गौरा घरसम्म भित्र्याउने गर्दछन् । भाद्र पञ्चमीतिथिका दिन घरघरमा तामा वा पित्तलको सफा भाँडोमा पाँच थरीका गेँडागुडीअर्थात् ‘बिरुडा’ भिजाएर राखिएपछि यो पर्वको औपचारिकरुपमा सुरु भएको मानिन्छ ।

    ‘बिरुडा’ भिजाएर राखिने भाद्र पञ्चमीको दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ । सप्तमी तथा अष्ठमीका दिन गौरी र महेश्वरको महिलाद्वारा सामूहिक रुपमा पूजा गरिन्छ । पूजा गर्नुअघि घरमा भिजाएर राखिएको बिरुडालाई सामूहिकरुपमा पँधेरो वा जलाशयमा लगेर धार्मिक अनुष्ठानका साथ धोइन्छ । यसलाई ‘नोलाइ’ गौरा भनिन्छ ।

    पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’(पाँच थरीका गेँडागुडी) को विशेष महत्व हुन्छ । ‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादका रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसले पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ ।

    पूजाको काम सकिएपछि हरेक दिन महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा, खेल खेलेर रमाउने गर्छन् । चैत र धमारीसम्बन्धी गीतले देवीदेवताको महिमा, पुराना वीरयोद्धा, राजामहाराजाका वीरगाथा, आफ्नो गाउँठाउँका पर्यटकीय, ऐतिहासिक तथा सांस्कृतिकरुपमा महत्वपूर्णस्थल, हिन्दू सभ्यता र संस्कृतिको महत्व दर्शाउने गरेको बताइन्छ ।

    गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने पनि जनविश्वास छ । यसै पर्वदेखि विवाहिता हिन्दू महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुव–धागो’ आ–आफ्नो घाँटीमा धारण गर्ने चलन छ । यो दुव–धागो गौरादेवीलाई चढाएपछि मात्र महिलाले आफूले ग्रहण गर्ने गर्दछन् ।

    यो पर्व मनाउन एक ठाउँमा भेला हुने अवसर मिल्ने भई आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने, इष्टकूल देवता खुसी हुने, सामाजिक विकृति विसङ्गति, कुशासनविरुद्ध देउडा खेलका माध्यमबाट तिखो व्यङ्ग गरिने हुँदा यसले समाजलाई सही बाटोमा डोर्याउन मद्दत पुर्याउने विश्वास गरिन्छ । अनुकूल तिथि र साइत हेरेर यो पर्व बिसर्जन गरिन्छ ।

    पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रुपमा पाउन गरिएको ब्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएको सम्झनामा सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको भनाइ छ । गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको पनि अर्को भनाइ रहेको छ ।

    पछिल्ला दशकमा राजधानी काठमाडौँसम्म यो पर्व विस्तार हुनसक्नुलाई उपलब्धि मानिएको भए पनि पर्वका बेला खेलिने विशेष महत्वका मौलिक खेल भने विस्तारै हराउँदै गएको जानकार बताउँछन् ।


    शुक्रवार, भाद्र १७ २०७९०५:१४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij