काठमाडौं । सत्तागठबन्धन दलले संसदको कार्यकाल लम्ब्याउनका निम्ति विभिन्न उपाय अवलम्बन गरिरहेको छ । विगतका नजीर हेर्दा निर्वाचन घोषणा भएपश्चात सरकार कामचलाउ बन्ने भएपनि अहिले संविधानमा व्यवस्था परिवर्तन भइसकेको आवाज सांसदहरुले उठाएका छन् ।
आज प्रतिनिधिसभाको कार्यकाल सम्बन्धीसहित ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि धारणा राख्दै सांसद मीन विश्वकर्माले अर्को सरकार गठन नभएसम्मका लागि बहालवाला सरकारनै रहने दाबी गर्नुभयो ।
सांसद दिव्यमणि राजभण्डारीले पनि निर्वाचन भएपछि आउने नयाँ सरकारले नेतृत्व सम्हालेपछि पुरानो सरकार विघटन हुने बताउनुभयो । विगतका उदाहरण दिँदै उहाँले अस्थीर सरकार बन्ने भएकोले केही समस्या भने पैदा भएको बताउनुभयो ।
सांसद गोकुल बाँस्कोटाले अहिलेको सरकार नै छलछाम र जालसाजी गरेर बनेको हुनाले विश्वास गर्न नसकिने तर्क गर्नुभयो । सरकारको आयू के हुने भन्नेमै अड्किएको बताउँदै उहाँले कानून लत्याएर जागिर जोगाउन नहुने बताउनुभयो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ प्रस्ताव (विधेयक) राखेपछि छलफल सुरु भएको छ । प्रतिनिधिसभाको कार्यकालबारे रहेको अन्योल चिर्नसहित उक्त विधेयक ल्याएको कोइरालाको को दाबी छ । मन्त्री कोइरालाले निर्वाचन सकिएर अर्को सरकार बनिसकेपछि मात्रै संसदको कार्यकाल सकिने जिकीर गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त नहुने भन्दै राजीनामाको घोषणा गर्नुभएको छ ।
पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उहाँले बताउनुभयो । सरकारले आफू अनुकुलका केही निर्णय गर्न र धम्क्याउन भएपनि संसदलाई जिवित राख्न चाहेको प्रतिपक्षीको आरोप छ ।