काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर पाँच दलका शीर्ष नेता होटल याक एण्ड यती गएका छन् । शीर्ष नेताहरू बैठकबाट निस्केपछि अन्य नेताहरू अलमलमा परेका छन् ।
सिट बाडफाँटका लागि बिहीबार दिउँसो २ बजेलाई कार्यदलसहित गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको थियो । दुई बजेको निर्धारित समय भएपनि बैठक ३ बजेमात्रै सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै शीर्ष नेता सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचनका लागि बालुवाटारबाट हिँडेका थिए ।
पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम सहभागी हुनुभएको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक जारी रहेकै बेला नेताहरू किताब विमोचनमा निस्केकाले कुनै प्रगति नभएको बताउनुभयो ।
माओवादीका महासचिव समेत रहेका देव गुरुङले शीर्ष नेताबाहेकका नेताहरुबीच छलफल भइरहेको बताउनुभयो ।