काठमाडौं । दसैंका कारण पेट्रोलियम पदार्थको खपत बढेको छ ।
नेपाल आयल निगमका अनुसार हालका दिनमा औसत पेट्रोलको खपत दैनिक ३ हजार किलोलिटर पुगेको छ भने डिजेलको खपत ३ हजार ७ सय किलोलिटर हाराहारी पुगेको छ ।
गत बिहीबार देशभर ३ हजार १०४ किलोलिटर पेट्रोल तथा ३ हजार ७५८ किलोलिटर डिजेल खपत भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
दसैंअघिको तुलनामा हाल पेट्रोल र डिजेलको खपत बढेको उहाँले बताउनुभयो । निगमका अनुसार दसैं सुरु हुनुभन्दा अघि औसत दैनिक २ हजार २ सय किलोलिटर पेट्रोल तथा ३ हजार ५ सय किलोलिटर डिजेल खपत हुने गरेको थियो ।
दसैंका बेला सडकमा सार्वजनिक तथा निजी सवारीसाधनको चाप बढ्ने भएकाले पेट्रोल र डिजेलको खपत बढ्नु स्वभाविक रहेको उपाध्यायले बताउनुभयो ।
साउन महिनामा देशभर कुल ५१ हजार ६३० किलोलिटर पेट्रोल र ७६ हजार ४० किलोलिटर डिजेल खपत भएकोमा असोज १ देखि ११ गतेसम्म मात्रै कुल २० हजार ८३२ किलोलिटर पेट्रोल र ३२ हजार ८६२ किलोलिटर डिजेल खपत भएको निगमको तथ्यांक छ ।