काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गर्नुभएको छ ।
बडादसैँ २०७९ को अवसरमा राष्ट्रपति भण्डारीले शीतलनिवासमा गुरुहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गर्नुभएको हो।
राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई बुधबार(आज) दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।