काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन सकिएसँगै चुनावी चहलपहल बढेको छ । उम्मेदवारी दर्तापछि उम्मेदवारहरू मतदाता फकाउने र परिणाम आफ्नो पक्षमा पार्ने प्रयासमा जुटेका छन् ।
यसपटकको निर्वाचनमा पनि विगतमा जस्तै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १, एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँ ५, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट १, सम्मानित नेता झलनाथ खनाल इलाम १ देखि जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसम्म चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
प्रतिनिधिसभा सदस्यका लागि डडेलधुराबाट उम्मेदवारी दर्ता गरेका प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई बीपी कांग्रेसका तर्फबाट कर्ण मल्लले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कांग्रेसबाट विद्रोह गरेका मल्ल र कांग्रेसका केही मतदाता पनि बीपी कांग्रेसतिरै लागेका छन् । कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल २०७४को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग तनहुँ १ मा पराजित हुनुभएको थियो । पौडेलको यो क्षेत्रमा पूर्व कांग्रेस नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिएर चुनौती दिनुभएको छ । संविधानविद् डा। भीमार्जुन आचार्यका अनुसार अहिलेको निर्वाचनमा नेताहरूले उम्मेदवारीको स्थान परिवर्तन गर्नु भनेको उनीहरूले पाँच वर्षमा काम गर्न नसकेको संकेत हो । अहिले राजनीतिक दलका उम्मेदवारहरूलाई स्वतन्त्रले टक्कर दिने पक्का छ ।
यता, झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली राप्रपाको सहयोगमा निर्वाचन जित्ने प्रयत्नमा हुनुहुन्छ । ओलीसँग कांग्रेसका खगेन्द्र अधिकारी र स्वतन्त्र उम्मेदवार युग पाठक प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो निर्वाचनमा चितवनबाट चुनावी जित निकालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यो पटक गोरखा २ बाट चुनाव लड्दै हुनुहुन्छ । गोरखा २ मा प्रचण्डका प्रतिस्पर्धीका रूपमा एमालेका अव्दुस मियाँ आउने देखिएको छ । डा। आचार्यका अनुसार सक्षम व्यक्तिले टिकट नपाउनुले संविधानले खोजे बमोजिमको नेतृत्व आउने शंका कायम रहेको छ ।
यता, रौतहट १ मा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमालेका अजय गुप्ता प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यद्यपि एमाले उम्मेदवार गुप्ताले जसपाको समेत समर्थन पाउने भएकाले नेपालसँग मुख्य प्रतिस्पर्धी हुन सक्नेछन् । समग्रमा निर्वाचनको अवस्थिति हेर्दा धेरै चर्चित अनुहार वञ्चित गराएर उही पाको अनुहार चुनावी मैदानमा होमिएको छ । यसको फैसला जनताले मंसिर ४ गते गर्नेछन् ।