काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई/मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठपर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख गर्नुभएको छ ।
छठपर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठीमाताको पूजा अर्चना गरी मनाइने पर्व हो । नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न गरिन्छ ।
प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवर्द्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गर्नुभयो । विगतमा विशेषगरी तराई/मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उल्लेख गर्दै उहाँले हाम्रा सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले यी पर्व तथा संस्कृतिले हाम्रो समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पुर्याउँदै आएका बताउनुभएको छ ।
कोभिड–१९ र डेङ्गी जस्ता रोगको जोखिम कायमै रहेको सन्दर्भमा जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गर्दै यस वर्षको छठ पर्व हर्षोल्लासपूर्वक मनाउन उहाँले सबैमा आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री देउवाले छठपर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्दै सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।