काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागी खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरूको चुनावी दौडाहा पनि सुरु भएको छ । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेपछि शीर्ष नेताहरू प्रचारप्रसारमा हिँड्न थालेका हुन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा मतदाता भेटघाट र घरदैलोका लागि हिजो नै कैलालीको धनगढी पुग्नु भएको छ । उहाँ आज गृह जिल्ला डडेलधुरा पुग्दै हुनुहुन्छ । डडेलधुराबाट उहाँले चुनावी आमसभाको सुरुवात गर्दै हुनुहुन्छ ।
देउवाले आज गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँ आउँदो आइतबारसम्म नै गृह जिल्लामै रही सात वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । उहाँले भोलि बिहान नवदुर्गा गाउँपालिका–२ को खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ को बडाल, पर्सि बिहान अजयमेरु गाउँपालिका–३ को भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिका–२ को रुपाल तथा २० गते आलिताल गाउँपालिका–८ को गोदाम र परशुराम नगरपालिका–१२ को लालढुङ्गामा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चा सहितको सत्ता गठबन्धनले संयुक्त चुनावी सभाको समेत तयारी गरेको छ । अहिले शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने र कात्तिकको अन्तिम साता संयुक्त चुनावी कार्यक्रम हुने नेताहरूले जनाएका छन् ।
यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला केही दिनदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित हुनुहुन्छ । प्रचण्ड पुनः केही दिन उम्मेदवार रहेको गोरखा २ मै केन्द्रित हुने माओवादी केन्द्रले जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि गृहप्रदेश मधेसमै केन्द्रित हुनुहुन्छ ।
यस्तै, विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलिदेखि देश दौडाहामा निस्किनुहुने छ । ओलीले भोलि सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको छ ।
ओलीले चुनावी प्रचारका लागि हेलिकोप्टरको प्रयोग गर्नुहुने छ । एमालेले हेलिकोप्टरको प्रयोगका लागि निर्वाचन आयोगसँग अनुमति समेत लिइसकेको जनाइएको छ ।