Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गगन थापालाई प्रधानमन्त्री बनाउन दवाव दिँदै हस्ताक्षर संकलन

गगन थापालाई प्रधानमन्त्री बनाउन दवाव दिँदै हस्ताक्षर संकलन

  • आइतवार, मंसिर १८ २०७९

  • 953
    SHARES

  • गगन थापालाई प्रधानमन्त्री बनाउन दवाव दिँदै हस्ताक्षर संकलन

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नं. ४ का सांसद गगनकुमार थापालाई प्रधानमन्त्री बनाउन दवाव दिन सुनसरीमा आज हस्ताक्षर संकलन गरिएको छ । देश र जनताले राजनीतिमा पुस्तान्तरण चाहेकाले युवा नेताहरु मध्ये सबैभन्दा क्षमतावान र उपयुक्त पात्र थापा नै भएकाले थापालाई प्रधानमन्त्री बनाउनु पर्ने हस्ताक्षरकर्ताहरुको भनाई छ ।

    उनीहरुले काँग्रेसको संसदीय दलको निर्वाचनमा थापाको पक्षमा मतदान गर्न काँग्रेसका सांसदहरुलाई दवाव दिन हस्ताक्षर गरिएको बताएका छन् । अभियानका संयोजक तथा नेपाल तरुण दल सुनसरीका सचिव रमेश कटुवालले झण्डै पाँच सय जनाले हस्ताक्षर गरेको जानकारी दिनुभयो । सुनसरीको इनरुवामा हस्ताक्षर संकलन गरिएको हो ।

    हस्ताक्षर गरिएको व्यानर काँग्रेसका सबै सांसदहरुलाई ध्यानाकर्षण गराउनेगरी काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पठाइने पनि उहाँले बताउनुभयो । कुनै व्यक्ति विषेशको चाहना र अवस्थाभन्दा पनि देश र देशवासीको चाहना अनुसार काँग्रेसका सांसदहरुले निर्णय गरेर देशलाई नयाँ मोडमा लैजाने उहाँले विश्वास गर्नुभयो ।

    “देशलाई यथास्थीतिमै रहन दिने की नयाँ परिस्थीतिमा लैजाने भन्ने निर्णायक भूमिका अहिले काँग्रेसका सांसदहरुको काँधमा आएको छ, उहाँहरुले आफ्नो प्रभाव, स्वार्थ र निकटताभन्दा देश र जनताको हित, भावना र आवश्यकता अनुसार मतदान गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ,” संयोजक कटुवालले भन्नुभयो ।

    काँग्रेस संसदीय दलको निर्वाचनलाई काँग्रेसका सांसदहरुको विवेक परीक्षण गर्ने कडिको रुपमा देशभरीबाट अत्यन्त चासोका साथ हेरिएको उहाँले बताउनुभयो । काँग्रेस महामन्त्री थापालाई संसदीय दलको नेता बनाउन दवाव दिन हस्ताक्षर गर्न आउनेहरु पनि निकै उत्साहित र आशावादी हुने गरेको उहाँले जानकारी दिनुभयो । कटुवालका अनुसार उनीहरुले संसदीय दलको नेतामा थापा विजयी भए हुन्थ्यो भन्दै प्रार्थना गर्ने गरेका थिए ।

    हस्ताक्षर गर्न आएका एक सहभागीले काँग्रेस सांसदहरुप्रति लक्षित गर्दै भने, “समयले गगन थापाको पुस्तालाई सरकारको नेतृत्वमा देख्न चाहेको छ, यदि तिमी समयको कुरा सुन्न तयार भएनौ भने समयले तिमीलाई ऐया भन्न नपाई राजनीतिक मैदानबाट बाहिर निकालिदिनेछ, त्यसैले समय नघर्किँदै समयको कुरा सुन ।”

    हस्ताक्षर अभियान देशभरी चलाउनु पर्ने र काँग्रेस सांसदहरुलाई घच्घच्याउनु पर्नेमा हस्ताक्षरकर्ताहरुले जोड दिएका थिए ।

     


    आइतवार, मंसिर १८ २०७९०८:०२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij