काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएको छ ।
भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको निगमले जनाएको छ ।
उक्त परिणामको डिजेल आयात गर्दा यसअघि हुने ढुवानी तथा तापक्रम नोक्सानीबापतको झण्डै एक अर्ब रुपैयाँ जोगिएको नेपाल आयल निगमले जनाएको छ । प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष २४ भदौमा संयुक्त भर्चुअल बैठकमार्फत उद्घाटन गरेका थिए ।
एक वर्षमा दुई लाख ६७ हजार ट्यांकर बराबरको डिजेल पाइपलाइनमार्फत भित्रिएको निगमको अमलेखगन्ज डिपोले जनाएको छ । एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताउनुभयो ।
भारतको बरौनीदेखि नेपालको अमलेखगन्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकोमा पाइपलाइनपछि सो खर्च जोगिएको निगमको केन्द्रीय कार्यालयले जनाएको छ ।
एक वर्षमा ५३ करोड ४१ लाख लिटर इन्धन आयात हुँदा करिब ८० करोड २६ लाख रुपैयाँ ढुवानीमा तथा करिब १५ लाख रुपैयाँ तापक्रम नोक्सानी बापत जोगिएको निगमको दाबी छ ।