Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वविद्यालयहरू स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

विश्वविद्यालयहरू स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

  • बिहिवार, मंसिर २९ २०७९

  • 599
    SHARES

  • विश्वविद्यालयहरू स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा
    काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार(आज) आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले काठमाडौं विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको बताउनुभयो । 
     
    नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उहाँले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभई विदेशमा पनि महत्त्वपूर्ण संस्थामा आबद्ध भई उत्कृष्ट सेवा पुर्‍याउँदै आउनु सबैका लागि गर्वको विषय भएको प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले काठमाडौं विश्वविद्यालयका विभिन्न संकायमा दीक्षित भएका विद्यार्थीलाई बधाई व्यक्त गर्नुभएको छ । भविष्यमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । 
     
    समारोहमा उहाँले काठमाडौं विश्वविद्यालयबाट पहिलो पटक ‘मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरी सात जनालाई उपाधि प्रदान गर्नुभयो।
     
    यसैबीच, काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न संकायका स्नातक, स्नातकोत्तर र विद्यावारिधिका गरी एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएका छन् । 
     
    प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाको अध्यक्षता तथा वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति देवेन्द्र पौडेलको उपस्थितिमा पहिलो चरणको समारोहमा मानविकी, शिक्षा, इञ्जिनियरिङ, कानुन, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी एक हजार छ सय ६ जनासहित एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएको काठमाडौं विश्वविद्यालयले जनाएको छ । 
     
    विश्वविद्यालयका अनुसार मानविकीका दुई सय २०, शिक्षाका दुई सय दुई, इञ्जिनियरिङका २६, कानुनका ४० जना, व्यवस्थापनका चार सय ५२, स्वास्थ्य विज्ञानका सात सय १२ जना र विज्ञान संकायका ३७ जना विद्यार्थी दीक्षित भएका छन् । 
     
    दीक्षित हुने विद्यार्थीमध्ये सात सय ३४ जना पुरुष र नौ सय ६५ जना महिला  छन् । दीक्षित हुनेमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स पोर्चुगल, रूस, सिङ्गापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका एक सय ८६ जना विदेशी विद्यार्थीसमेत रहेको विश्वविद्यालयले जनाएको छ । यस विश्वविद्यालयबाट ४० हजार ३५ जना उत्तीर्ण भइसकेका छन् ।


    बिहिवार, मंसिर २९ २०७९०४:२१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij