काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुलबहादुर गुरुङले विस्तारै पर्वतीय पर्यटन खोल्दै नेपालको पर्यटनलाई लयमा फर्काउनु पर्ने बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्बादमा पत्रकार टीपी भुसालसँग कुरा गर्दै उहाँले स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै पर्यटनलाई खोल्दै जानुको विकल्प नभएको धारणा राख्नु भयो ।
हिमाल आरोहण तथा टे«किङको क्षेत्र स्वास्थ्य सुरक्षाको दृष्टिकोणले अन्य भन्दा सुरक्षित भएको र अहिले पनि विदेशीहरु नेपाल आउन चाहेकोले त्यो अवसरलाई प्रयोग गर्दै पर्यटनलाई पुनरुत्थान गर्दै जानुपर्नेमा गुरुङले जोड दिनुभयो ।
सेप्टेम्बर १५ पछि बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफा १८ जनाको नेतृत्व गरी हिमाल आरोहणका लागि नेपाल आउने भएको र त्यसले नेपालको पर्यटनमा सकारात्मक कुरा सञ्चार गर्ने उहाँले बताउनु भयो । कोभिड–१९ को अवस्थामा पनि नेपाली हिमाल आरोहण गर्न भीआईपी टोली नेपाल आउन लागेकोले यो आरोहणले विश्वको ध्यान खिच्ने र कोरोनाले थलिएको पर्यटनमा केही हदसम्म भए पनि राहत मिल्ने उहाँको धारणा छ ।
महासचिव गुरुङले कोरोना संक्रमणकै समयमा हिमाल सरसफाई तथा पूर्वाधार निर्माणको लागि यस क्षेत्रको जनशक्तिलाई प्रयोग गर्न आग्रह गरेपनि सरकारले त्यसतर्फ ध्यान दिन नसक्नु विडम्बना भएको बताउनुभयो । उनले पर्यटन क्षेत्रको बरोजगार रोजगार श्रम शक्तिलाई काममा लगाउन तर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।
एनएमएका महासचिव गुरुङसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।