काठमाडौं । १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा सकिएको छ ।
८ पुसमा सुरु भएको साधारणसभामा देशभरबाट सयौँ पत्रकार उपस्थित रहेका थिए । कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो ।
उद्घाटन सत्रमा पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय रूपमा सहभागी सञ्चारकर्मी एवं पत्रकारलाई राष्ट्रपति भण्डारीले सम्मान पनि गर्नुभएको थियो ।
महासंघले जारी गरेको सुर्खेत घोषणापत्रका पत्रकारका हकहित सुरक्षा, इन्टरनेटको प्रयोग गरी भइरहेको स्वतन्त्रताको हक हनन, विभिन्न तहका सरकारमा भइरहेका सूचनाको हकको हनन, सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माणमा ढिलाइ जस्ता विषयलाई जोड दिइएको छ । प्रेस स्वतन्त्रता हननका घटना रोक्न समेत महासंघले जोड दिएको छ ।


