काठमाडौं । दक्षिण चीन सागरदेखि पूर्वी सागरसम्म चीनलाई रोक्नका लागि अमेरिका र जापानले सैन्य सम्बन्ध थप बलियो बनाउने घोषणा गरेका छन् ।
जापानमा रहेका अमेरिकी सैनिकहरूले थप आक्रामक दृष्टिकोण अपनाउन खोजेको पनि बताइएको छ । त्यसैअन्तर्गत हालै बनाइएको मरिन युनिटलाई अत्याधुनिक गुप्तचर क्षमताका साथ जापानमा तैनाथ गरिनेछ । यी मरिन सैनिकहरूले एन्टी शिप क्षेप्यास्त्र पनि प्रहार गर्नेछन् ।
अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्कन र जापानका परराष्ट्रमन्त्री हयाशी योशिमासा तथा रक्षामन्त्री हमादा यासुकाजुसँगको संयुक्त पत्रकार सम्मेलनमा १२औं मरिन रेजिमेन्टलाई फेरि डिजाइन गरिने बताए ।
मरिन युनिटलाई जापानको ओकिनावा बेसमा तैनाथ गरिनेछ । चीनले गर्न सक्ने आक्रमणलाई यस युटिनले तत्कालै कठोर जवाफ दिने बताइएको छ ।
ओकिनावा प्रशान्त महासागरमा जापानको अभेद्य किल्ला हो । यसको भूरणनीतिक महत्त्व छ किनकि ताइवान त्यसभन्दा निकै नजिकै छ ।
ओकिनावामा २५ हजार अमेरिकी सैनिक तैनाथ छन् । त्यहाँ दुई दर्जनभन्दा बढी सैन्य अड्डा छन् । जापानमा रहेको लगभग ७० प्रतिशत सैन्य अड्डा ओकिनावामा नै छ ।
यसअघि एउटा वारगेममा ओकिनावा बेसले नै चीनसँगको युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान गरिएको थियो ।