काठमाडौं । यही माघ २५ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले)का राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त स्थानका लागि राष्ट्रियसभा उपनिर्वाचन हुन लागेका हो ।
लुम्बिनीमा त्रिपक्षीय भिडन्त हुने भएको छ । जसका लागि नेपाली कांग्रेस, एमाले र केन्द्रमा सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दिएको छ । नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैँ पनि प्रदेश निर्वाचन कार्यालय दाङ पुग्नुभएको थियो ।
सत्तारूढ दलहरूका तर्फबाट एमालेका कुमार दसौदी र कांग्रेसबाट माधवप्रसाद आचार्यले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । उक्त उपनिर्वाचनका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।