Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेसँगै प्रदेशमा तरंग, एमालेले नेतृत्व गरेका ठाउँमा संकट (खासखबर)

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेसँगै प्रदेशमा तरंग, एमालेले नेतृत्व गरेका ठाउँमा संकट (खासखबर)

  • शनिवार, चैत्र ४ २०७९

  • 724
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेसँगै प्रदेशमा तरंग, एमालेले नेतृत्व गरेका ठाउँमा संकट (खासखबर)
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ६ गते दोस्रोपटक विश्वासको मत लिने तयारी गर्नुभएको छ । कांग्रेससहितको पुरानो गठबन्धनलाई ब्युँताएर र केही दललाई मनाएर प्रचण्ड विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिएपछि सरकार विस्तारको काम सुरु हुनेछ । केन्द्रमा फेरिएको समीकरणका कारण केही प्रदेश सरकारलाई पनि असर गर्ने देखिएको छ । 
     
    अधिकांश प्रदेश सरकार पुस १० गतेको समीकरणअनुसार निर्माण भएका छन् । केन्द्रमा अहिले यो समीकरण बदलिएको छ । जसको बाछिटा सीधै प्रदेशमा पर्ने देखिन्छ ।  
     
    नेकपा एमालेको नेतृत्वमा गठन भएका प्रदेश सरकारहरू बदलिएको केन्द्रको समीकरण सँगै संकटमा पर्नेभएका छन् । पुस १० गते एमालेले सात प्रदेशमध्ये चार प्रदेशको नेतृत्व गर्ने मौका पाएको थियो । जसमा सुदूरपश्चिममा विश्वासको मत नपाएपछि एमाले सरकार ढलेको थियो । जसको बाछिटा केन्द्रसम्म पुग्यो । त्यसपछि सात दलीय सत्ता समीकरण नै फेरियो । प्रधानमन्त्री प्रचण्डले अहिले अर्को गठबन्धनको नेतृत्व गरिरहनुभएको छ । नेकपा एमाले गठबन्धनबाहिर छ । केही दिनभित्रमा प्रदेश सरकारको समीकरण फेरिने सम्भावना बलियो बनेको छ । तर, कर्णाली प्रदेशमा भने हालकै गठबन्धन जोगाएर जाने कसरत भइरहेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीको भनाइ छ । 
     
    अहिले कोशी प्रदेशमा नेकपा एमाले, मधेश प्रदेशमा जनता समाजवादी पार्टी, बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र, गण्डकी प्रदेशमा नेकपा एमाले, लुम्बिनी प्रदेशमा नेकपा एमाले, कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । यी प्रदेशका मुख्यमन्त्रीहरू यतिबेला केन्द्रमा छन् । कोही सत्ता जोगाउन दौडधुपमा छन् भने कोही नयाँ सरकारको नेतृत्वका लागि हानथाप गरिरहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूले जनताको पक्षमा काम गरेकोले सबै दलहरूको समर्थन पाइरहने दाबी गर्नुभयो । त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि नामाकरण आफ्नो ठुलो उपलब्धि रहेको दाबी गर्नुभयो । 
     
    मुलुकको शीर्ष तहमा हुने राजनीतिक परिवर्तनले तल्लो तहसम्म छुने गरेको छ । कुनै एक दलले स्पष्ट बहुमत ल्याउने अवस्था नहुँदा स्थिर सरकार बन्न सकिरहेको छैन । सरकार नै स्थिर नबन्दा विकास र समृद्धिका नारा घोषणापत्रमा सीमित हुन पुगेका छन् । पछिल्लो समय त राजनीतिक बेइमानी पनि बढ्दै गएको पाइन्छ । अहिले मुलुकको अर्थतन्त्र धराशायी बनेको छ भने रोजगारीका अवसरहरू गुमेका छन् तर राजनीतिक दल सरकारको रस्साकस्सीमा दौडिरहेका छन् । मुलुकलाई अब उप्रान्त स्थिरता दिएर विकासमा जुट्नु आजको आवश्यकता हो । 
     


    शनिवार, चैत्र ४ २०७९०७:४३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij