काठमाडौं । नेकपा एमालेका नेता एवं संसदीय दलका सचेतक महेश बर्तौलाले संसद्को पहिलो र दोस्रो दललाई पन्छाएर तेस्रो वा चौथो दलले सरकारको नेतृत्व गर्नु लोकतन्त्रकै भद्दा मजाक भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै बर्तौलाले ३२ सिटे पार्टीले कहिले कांग्रेसको ढाडमा टेकेर एमालेलाई हिर्काउने, कहिले एमालेको ढाडमा टेकेर कांग्रेसलाई हिर्काउने गरिरहेको टिप्पणी गर्नुभएको छ । उहाँले यसले मुलुकलाई स्थिरता दिन नसक्ने दाबी गर्नुभएको छ ।
संसद्का दुई ठुला शक्ति नेपाली कांग्रेस र एमालेले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि मिल्नुपर्ने कथाको माग भएको उहाँले औँल्याउनुभयो ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बर्तौलाले औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘हामी प्रमुख विपक्षीको बेन्चमा बसेका छौं । सरकारको काम कारबाहीको गुण र दोषका आधारमा रचनात्मक सहयोग र खबरदारी हुन्छ । तर एमालेले प्रचण्डलाई विश्वासको मत दिँदैन ।’
पुस १० को सहमतिमा प्रचण्डले एमालेलाई धोका दिएको आरोप पनि बर्तौलाले लगाउनुभयो । उहाँले बाध्यात्मक परिस्थितिमा पुस १० मा प्रचण्डसँग सहकार्य गरेको बताउँदै एक महिनामै उहाँको अस्थिर चरित्र फेरि देखिएको टिप्पणी गर्नुभयो । पुस १० मा हस्याङफस्याङ गर्दै बालकोट पुगेर गिडगिडाहट गरेका प्रचण्डले लभ एमालेसँग गरेर, लिभिङ टुगेदर कांग्रेससँग बसेको आरोप लगाउनुभयो ।