काठमाडौं । जनता समाजवादी पार्टीमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीले शपथ लिनुभएको छ । सभामुख देवराज घिमिरेले आइतबार(आज) सिंहदरबारमा अन्सारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो। समानुपातिक निर्वाचन प्रणालीबाट जसपा नेपालको समावेशी समूह, मुस्लिम–महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो ।
निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो । २०२० सालमा नेपालगन्ज– १३ मा बुवा नवीन्द्र शर्मा र आमा शान्ता शर्माको कोखबाट जन्मिएकी अन्सारी तीन दशकदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । २०४६ सालमा तत्कालीन नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएकी अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्नुभएको थियो।
उहाँले २०५६ सालमा सद्भावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्नुभएको थियो। २०६४ सालमा भएको मधेस विद्रोहमा सहभागी अन्सारीको नाम उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट २०६४, २०७० र २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा रहेको थियो । उहाँ मधेसी जनअधिकार फोरमको केन्द्रीय सदस्य, उपत्यका इन्चार्ज हुँदै अहिले जनता समाजवादी पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।
शपथपछि अन्सारीले प्रतिनिधि सभा सदस्यका रुपमा आफूले राज्यप्रति इमानदारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।