काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार उजुरी दर्ता भएका छन् । तीनवटा उजुरी चितवन–२ मा उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एउटा उजुरी काठमाडौंबाट ई–मेलमा प्राप्त भएको हो । उम्मेदवारका तर्फबाट परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोलिभित्र निर्णय लिनु पर्नेछ । ‘एउटा उजुरी सर्वसाधारणबाट काठमाडौंदेखि ई–मेलमा आएको छ । त्यो पनि यहाँ दर्ता भयो । त्यसका बारेमा हामीले सात दिनभित्र उजुरी परेको उम्मेदवारसँग स्पष्टीकरण लिएर बाँकी प्रक्रियाका लागि फाइल निर्वचन आयोगमा पठाउने छौं,’ चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले भन्नुभयो । बाँकी उजुरीमा भोलि ५ बजेभित्र निर्णय दिने उहाँले बताउनुभयो।
राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दर्ता गराएका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले रवि लामिछानेले विदेशी नागरिकता त्यागेपछि प्रक्रिया पुर्याइ नागरिकता लिएको तीन महिना पुगेको नदेखिने हुँदा उहाँ उम्मेदवार हुन योग्य नभएको भन्दै उजुरी (दाबी/विरोध) दर्ता गराउनुभएको छ । प्रक्रिया पुर्याएर नागरिकता लिएको नदेखिने भन्दै मुद्दा परेपछि सर्वोच्च अदालतले गत मंसिरमा चितवन–२ बाट विजयी लामिछानेको सांसद पद खारेज गरेको थियो । सोही कारण चितवन–२ मा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।
लामिछानेविरुद्ध दर्ता भएका अन्य उजुरीको विषय पनि यही रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले मुख्य निर्वचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराउनुभएको छ। त्यसैगरी काठमाडौंबाट युवराज पौडेलले पनि ई–मेलबाट पठाएको उजुरी कार्यालयमा दर्ता भएको हो ।
चितवन–२ मा दलबाट १२ र स्वतन्त्र १२ गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार उम्मेदवारहरूको योग्यतामाथि दाबी विरोध पेस गर्ने समय दिउँसो ३ बजेभित्र रवि लामिछानेका विरुद्ध मात्रै उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ ।
उहाँमाथि उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ । भोलि दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताउनुभयो ।