काठमाडौं । देशका तीन जिल्लामा उपनिर्वाचनको रौनक छ । चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचनको माहौल तातेको छ । विभिन्न दलका शीर्ष नेताहरू उपनिर्वाचन केन्द्रित बनेका छन् । भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापित दलहरूलाई चुनौती थपेको छ । उपनिर्वाचनको माहौल हेर्दा केही उम्मेदवारहरू आफ्नो प्रतिष्ठा जोगाउने दौडमा छन् । बारा क्षेत्र नम्बर २ मा सत्तागठबन्धनको समर्थनबाट उम्मेदवार बन्नुभएका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समेत निर्वाचनमा चुनौती देखिएको छ । त्यहाँ जनमतका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेलले यादवलाई ठुलो चुनौती दिएका छन् ।
उपनिर्वाचनको मौन अवधि सुरु हुनु पूर्व दलका उम्मेदवारहरू तीव्र चुनावी प्रचारप्रसारमा होमिएका छन् । चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका रास्वपाका सभापति रवि लामिछानेले आफू ठुलो मतान्तरले विजयी हुने दाबी गर्नुभएको छ । विभिन्न दलका उम्मेदवारहरूले आफूमाथि लगाएका आरोप भ्रम मात्रै रहेको उहाँको भनाइ छ ।
सत्तागठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले रवि लामिछानेमा राजनीतिक संस्कार नभएको बताउनुभएको छ । उहाँले सबैलाई गाली गर्दै जनतालाई गुमराहमा पारेको दाबी गर्नुभएको छ ।
यता, तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । उपनिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन ।