काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले आज विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयलाई पत्र समेत बुझाउनुभएको छ ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार शर्माले १५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र दर्ता गराउनुभएको हो ।
मुख्यमन्त्री शर्माले सरकारको नेतृत्व गरेको तीन महिनामा तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको छ । शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसक्नुभएको छ । पहिलो पटक ६ माघमा विश्वासको मत लिनुभएका उहाँले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।
सरकारमा सहभागी एमालेले गत चैत २७ गते समर्थन फिर्ता लिएको थियो । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले उहाँलाई नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को साथ रहेको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक÷एक जना रहेका छन् ।